आज सुदूरपश्चिम प्रदेशमा  ‘ओल्के पर्व’  हर्षोल्लासपूर्वक मनाइँदै

आज सुदूरपश्चिम प्रदेशमा  ‘ओल्के पर्व’  हर्षोल्लासपूर्वक मनाइँदै

१ भाद्र, काठमाडौं । आज सुदूरपश्चिम प्रदेशमा  ‘ओल्के पर्व’  हर्षोल्लासपूर्वक मनाइँदै छ। पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर आपसमा सद्भाव कायम राख्न मनाइने पर्व हो ओल्के । 

भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारीस्वरूप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठामीठा खानाका परिकार पकाउने तयारी गरिन्छ । कामका लागि बाहिर रहेकाहरू पनि यो चाड मनाउन आआफ्ना घर फर्किन्छन् ।

ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वर्षौँदेखि   छ ।

ओल्के पर्वका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी पुरी, बाबर, माणा, निसौसे, गतानी डुब्कालगायत डोटेली खानाका मीठा परिकार खुवाउने चलन छ । माइतीघरमा आइपुग्ने ज्वाइँ–छोरीलाई मीठा खानाका परिकारका साथै शक्ति र गच्छेअनुसारको दान दक्षिणा दिएर स्वागत गर्ने गरिन्छ ।

यस पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदोबाट हत्केला र खुट्टाको औँला रङ्गाइ रमाइलो गर्ने गरिन्छ ।

यसरी पिसेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले वर्षात्को मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास छ ।

रोगको सङ्क्रमणबाट बच्न हातखुट्टा रङ्गाइने हुँदा यसलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडको रूपमा समेत लिइने गरिन्छ । डोटेली लोक संस्कृतिको मौलिक पर्व ‘ओल्के’का अवसरमा प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।