टीकापुर घटनाका चार राजबन्दी रिहा, स्वागत गर्न पुगे रेशम र रन्जिता

टीकापुर घटनाका चार राजबन्दी रिहा, स्वागत गर्न पुगे रेशम र रन्जिता

३ असोज, काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका चारजना कैदीबन्दी बुधबार रिहा भएका छन्। 

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा भएपछि उनीहरु रिहा भएका हुन् । रिहा हुनेमा कैलाली जिल्ला कारागारमा रहेका तीनजना र पोखराको सुधारगृहमा रहेका एक जना छन् । 

विगत आठ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका कैलालीको जानकी गाउँपालिका– ७ मोतीपुरका हरिनारायण चौधरी, सोही गाउँपालिकाको लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिकाको ठाह्रापुरका वीरबहादुर चौधरीलाई रिहा गरिएको छ । 

आठ प्रहरी र एक नाबालकसहित नौजनाको हत्या भएको टीकापुर घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा दोषी ठहर भएका तीनैजना जन्मकैदको सजाय भुक्तान गरिरहेका थिए। हरिनारायण ५ भदौ ०७२, दिलबहादुर १४ भदौ ०७२ र प्रदीप २० भदौ ०७२ मा पक्राउ परेका थिए।

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा भएपछि टीकापुर घटनाका तीनसहित विभिन्न मुद्दाका नौजना कैदीबन्दीलाई बुधबार रिहा गरिएको जिल्ला कारागार कैलालीले जनाएको छ । 

रिहा हुने अन्य कैदीबन्दी चोरी, अवैध हातहतियार, बहुविवाह र सवारी ज्यान मुद्दा सजाय भोगिरहेका थिए। 

संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, प्रतिनिधिसभा सदस्यद्वय गंगा चौधरी र अरुणकुमार चौधरी, नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीलगायत उक्त पार्टीका नेताहरूले रिहा भएका टीकापुर घटनाका तीनै कैदीलाई कारागारको गेटमा अबिर र खादा लगाएर स्वागत गरेका छन्।

त्यस्तै, टीकापुर घटनामा दोषी ठहर भई तत्कालीन अवस्थामा नाबालक रहेकाले अदालतको आदेशअनुसार पोखराको सुधारगृहमा पठाइएका लट्कनियाकै श्रवणकुमार चौधरी पनि रिहा भएका राउपा संरक्षक रेशमलाल चौधरीले जानकारी दिए ।