नाउपाको महाधिवेशन सम्बन्धमा आयोजकहरुको बैठक टीकापुरमा सम्पन्न 

नाउपाको  महाधिवेशन सम्बन्धमा  आयोजकहरुको बैठक टीकापुरमा सम्पन्न 

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक टिकापुरमा सम्पन्न भएको छ । 
नाउपा टिकापुर पार्टी कार्यालयमा साेमबार (आज) बिहानदेखि सुरु भएको बैठकमा महाधिवेशन लगायत पार्टीको संगठनात्मक विषयमा छलफल भएको थियो । महाधिवेशन सम्बन्धि प्रचारप्रसार,  अतिथिहरुलाई आमन्त्रणका लागि पत्राचार, मञ्च व्यवस्थापन, खाना र आवास व्यवस्थापन, आर्थिक संकलन लगायतका विषयमा छलफल भएको नाउपाका संरक्षक तथा महाधिवेशन समिती संयोजक रेशमलाल चौधरीले जानकारी दिए । 
नाउपाको प्रथम महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म उक्त पार्टीको आधार भूमि कैलालीको टिकापुरमा हुँदैछ । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने पार्टीको तयारी छ ।  नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनलाई हरेक हिसाबले ऐतिहासिक बनाउन महाधिवेशनमा देशको ७७ वटै जिल्लाबाट ८ हजार भन्दा बढी प्रतिनिधि सहभागी गराउने पार्टीको आन्तरिक तयारी छ । 
पार्टीको महाधिवेशन भव्यरुपमा सफल पार्नका निम्ती विभिन्न समिति तथा उपसमिती बनाएर काम तीब्र पारिएको छ । पार्टीले महाधिवेशनको आन्तरिक तथा व्यवस्थापकीय कामका साथै देशभरबाट प्रतिनिधि छनौट र अतिथिलाई निमन्त्रण दिने कामलाई तीब्रता दिएको छ ।