बैंकको चिठ्ठी ऋणीको घर-घरमा पठाउन प्रयोग हुन्छ ‘हुलाक सेवा’

बैंकको चिठ्ठी ऋणीको घर-घरमा पठाउन प्रयोग हुन्छ ‘हुलाक सेवा’

काठमाडौं । कुनै समय सूचना तथा सञ्चारको सिंगो प्रतिनिधित्व गर्ने हुलाक यतिबेला आफूलाई समयानुकूल परिवर्तन गर्न नसक्दा बेहाल अवस्थामा पुगेको छ । डाँक सेवामा निजी क्षेत्र पकड बनाउँदै जाने र चिठ्ठीपत्रको कम प्रयोग हुने तथा प्रविधिको बढ्दो प्रयोगका कारण हुलाकप्रतिको दृष्टिकोण साँघुरिएको हो ।

हुलाकले दिने पोष्ट बक्स नम्बर लिन मरिहत्ते गर्नुपर्ने, ग्राहकको भीडले पाइला राख्ने ठाउँ नहुने समय गुजारेको हुलाक अहिले कार्यक्षेत्र विस्तार गरेर कुरियर र वित्तीय कारोबारमा केन्द्रित हुँदै आएको छ । चिठ्ठीपत्रलाई नागरिकको घरसम्मै पुर्‍याउन सुरु गरिएको हुलाक सेवा निजी कुरियर कम्पनीको सुरुवातसँगै सुस्ताएको थियो । अझ ईन्टरनेटको पहुँचमा आमनागरिक पुगेपछि त झनै यसको अस्तित्व नै संकटमा परेको हो ।

हुलाक सेवालाई पछिल्लो समय बैंकहरुले ऋणीको घरमा चिठ्ठी पठाउन प्रयोग गर्ने गर्दछन् भने विदेशबाट विभिन्न सामाग्रीको कुरियर गरेर ल्याउन प्रयोग गरिन्छ । त्यस्तै निजी कम्पनीहरुले समेत हुलाक सेवाको प्रयोग गर्ने गरेका छन् । निजी क्षेत्रको तुलनामा न्यून शुल्कमा हुलाकले डाँक सेवा गर्ने भएपनि प्रचारप्रसारको अभावमा धेरै उपभोक्ता हुलाकबारे बेखबर छन् । त्यसैले निजी कम्पनीको तुलनामा हुलाकको कम प्रयोग भएको पाइन्छ। पछिल्लो समय हुलाक सेवाको काम दिन प्रतिदिन घट्दै गएको हुलाक सेवा विभागकी महानिर्देशक इन्दु शर्मा बताउनुहुन्छ ।

समयसापेक्ष हुलाकको कार्यशैलीमा सुधार ल्याउन सरकारले पटक पटक कार्यदल नबनाएको होइन । तर, राजनीतिक इच्छाशक्ति कमजोर हुँदा हुलाक कछुवा गतिमै सीमित छ । सरकारले ईलाका तथा जिल्ला हुलाक कार्यालयलाई खारेज गरेर स्थानीय तहबाट हुलाक सेवा दिने नीति ल्याएको छ । त्यस्तै, विभागले पनि विभिन्न स्थानमा हुलाक सेवाको विषयमा कार्यक्रम सञ्चालन गर्दे आएको छ ।

हुलाक सेवा विभाग मातहत चार वटा महत्वपूर्ण कार्यालय छन् । यीमध्ये एउटा गोश्वारा हुलाक कार्यालय हो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालन एवं हुलाक बचत बैंकको व्यवस्थापन गर्छ । केन्द्रीय धनादेश कार्यालय, जसलाई हुलाक विभागको सम्पूर्ण आर्थिक सेवासँग सम्बन्धित कार्य र धनादेश सेवाको केन्द्रीय हिसाब राख्ने जिम्मेवारी दिइएको छ ।

त्यस्तै, हुलाक टिकट डिजाइन, छपाई, वितरणलगायतका जिम्मेवारी पाएको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय छ । काठमाडौंको हुलाक गोश्वारा कार्यालय अन्तर्गत देशका ७७ वटै जिल्लामा हुलाकको पहुँच छ । समय अनुसार प्रचार प्रचार र प्रतिस्पर्धामा लैजान सके निजीक्षेत्र भन्दा धेरै सस्तो सेवामार्फत उपभोक्ताले सुविधा पाउँथे ।