भरिभराउ नाटकघर उत्साहित रङ्गकर्मी

भरिभराउ नाटकघर उत्साहित रङ्गकर्मी

भरिभराउ नाटकघर उत्साहित रङ्गकर्मी

काठमाडौँ, जेठ २३ गते । कोभिड–१९ का कारण थलिएकोे नेपाली रङ्गमञ्चमा यति बेला उत्साह छाएको छ । सर्वसाधारणको नाटकप्रतिको मोह देखेर रङ्गकर्मीमा खुसी छाएको छ । यति बेला सर्वसाधारणकै माग अनुरूप नाटकहरू मञ्चन भइरहेका छन् । यसले गर्दा नाटक मञ्चन गर्नेहरूमा प्रतिस्पर्धा बढेको देख्न पाइन्छ ।  

यति बेला नाटकघरहरूमा प्रायः दैनिक जसो नाटक मञ्चन भइरहेका छन् । केहीअघिसम्म रङ्गमञ्चको अवस्था यस्तो थिएन, रङ्गकर्ममा सव्रिmय रङ्गकर्मी यसको भविष्यलाई लिएर चिन्तित देखिन्थे । कलाका अन्य विधाभन्दा रङ्गमञ्चलाई त्यति महत्व नदिनेहरू अहिले व्यावसायिक रूपमा मौलाउँदै गएको रङ्गमञ्चको अवस्था देखेर छक्क परेका छन् । 

दर्शकहरूको भिड र मागका कारण नाटकघरहरू भरिनुले पनि नेपाली रङ्गमञ्चले फड्को मारिरहेको देखिन्छ । अहिले गतिला टिकट किनेर चलचित्र हेर्न हल धाउने दर्शक नाटकघरहरूमा धेरै देखिन थालेका छन् । काठमाडौँ उपत्यकामा मात्र होइन मोफसलतिर पनि सुविधासम्पन्न नाटकघर स्थापना गर्ने र नाटक मञ्चन गर्ने होडबाजी चलिरहेको छ यति बेला । नाटकघरमै नाटकका कक्षाहरू सञ्चालन भइरहेका छन् । नेपाली रङ्गमञ्चमा विशिष्ट पहिचान बनाएका वरिष्ठ कलाकार हरिहर शर्मा रङ्गमञ्चको चहलपहल देखेर दङ्ग पर्दै भन्नुहुन्छ, “नाट्य क्षेत्र अब धेरै माथि उठिसक्यो ।” रङ्गमञ्चमा प्रतिबद्ध र प्रशिक्षित रङ्गकर्मी भने अझै पनि सोचेजति नभएको शर्माको भनाइ छ ।  

विगतमा रङ्गमञ्चमा थुप्रै नाटकले चर्चा बटुले  । कुनैले पैसा मात्र कमाउने काम गरेको कलाकार शर्माको विश्लेषण छ । उहाँका अनुसार ३० को दशक रङ्गमञ्चका लागि ‘स्वर्ण युग’ थियो ।  त्यस अवधिमा मन छुने राम्रा राम्रा नाटक मञ्चन भएको उहाँ स्मरण गर्नुहुन्छ । विसं २०५९ मा आरोहण गुरुकुलले पुरानो बानेश्वरमा नाटकघर स्थापना गरेसँगै नेपाली रङ्गमञ्च क्षेत्रले गति लिएको मान्नेहरू धेरै छन् । गुरुकुलले दर्शकलाई आकर्षित गर्न उत्कृष्ट नाटकहरू मञ्चन गरेको थियो । अहिले एकपछि अर्को नाट्यशाला खुलेर नेपाली नाट्यकर्ममा क्रान्ति नै आएको शर्माको दाबी छ । 

अहिले नाटकका ठूला ठूला पोस्टरहरू गल्ली गल्लीमा देखिन थालेका छन् । कुनै बेला नाटकका टिकट ‘ब्ल्याक’ मा बिक्री  भएको सम्झनुहुन्छ, रङ्गकर्मी सुनील पोखरेल  । अहिले नाटकघरमा टिकट किन्न लाइन नै बस्नुपर्ने अवस्था छ । उहाँ भन्नुहुन्छ, “नाम त कति कमाइयो कति, अब दाम पनि त हात पर्नु प-यो नि ।” 

पछिल्ला केही वर्षलाई हेर्ने हो भने नाटकको बजार अब काठमाडौँ उपत्यकामा मात्र सीमित छैन । मोफसलमा पनि निरन्तर रूपमा नाटक मञ्चन र नाटकबारे बहसहरू हुन थालेका छन् । आरोहण गुरुकुल, सर्वनाम थिएटर, मण्डला थिएटर, कौसी थिएटर, शिल्पी थिएटर, ओजस थिएटर, गन्धर्व थिएटर र कदम थिएटर यति बेला दर्शकले भरिभराउ छन् । 

नाटकको माहोल र नाटक रुचाउने दर्शक दिनानुदिन बढ्दै जानु रङ्मञ्चका लागि मात्र नभएर नेपाली कला तथा वाङ्मय क्षेत्रका लागि पनि धेरै खुसीको कुरा भएको रङ्गकर्मी तथा निर्देशक विमल सुवेदी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यति बेला नेपालमा मौलिक र उत्कृष्ट नाटक मञ्चन हुने मात्र नभई कलाकारहरूको उपस्थिति र आकर्षण पनि उल्लेखीय रूपमा बढेको छ । यो थप खुसीको कुरा हो ।”

नाटक मञ्चनमा आएको नयाँ विचार र शैलीले गर्दा पाश्चात्य रङ्गकर्मले पूर्वीय रङ्गकर्मलाई पनि प्राथमिकता र महत्व दिएको देखिएको छ । नेपाली नाटकको लोभलाग्दो प्रगति र व्यावसायिकता देखेर विदेशी नाट्यकर्मीको आकर्षण र लगानी पनि बढ्दै गएको छ । विदेशी दातृ निकायहरूले नेपाली रङ्गकर्मीको कलालाई गाउँ गाउँसम्म पु-याएर प्रदर्शन गर्ने अवसरहरू पनि प्रदान गर्न थालेका छन्; जुन नेपाली रङ्गकर्मका लागि फाइदाजनक देखिन्छ ।  

सुकृत नेपाल