पश्चिम सुर्खेतमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढ्दा रुकुम पश्चिमको चौरजहारीमा स्थापना गर्ने कर्णाली सरकारको नीति

पश्चिम सुर्खेतमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढ्दा रुकुम पश्चिमको चौरजहारीमा स्थापना गर्ने कर्णाली सरकारको नीति

सुर्खेत । हाल लुम्बिनी प्रदेशको नेपालगंजमा रहेको कर्णालीको प्रदेश प्रहरी तालिम केन्द्र स्थानान्तरणको विषयलाई लिएर यतिबेला दुई मत देखिएको छ । यस अघिदेखिनै पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८ को दुलालथाई मौरीडाँडा सामुदायिक वनमा तालिम केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ । तर, आइतबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याइएको नीति तथा कार्यक्रममा भने तालिम केन्द्र रुकुम पश्चिमको चौरजहारीमा स्थापना गर्ने भनिएको छ । चौरजहारी कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको गृह पालिका हो ।

पश्चिम सुर्खेतमा विगत एक वर्ष अघिदेखिनै तालिम केन्द्रको लागि जग्गा हेर्ने काम सुरु भएको थियो । प्रदेश राजधानी वीरेन्द्रनगरमा तालिम केन्द्रका लागि आवश्यक जग्गा नभएको भन्दै सबै तहको रोहबरमा दुलालथाईमा स्थापना गर्ने गरी प्रक्रिया अघि बढाइएको हो । त्यहाँ तालिम केन्द्रका लागि भनेर २२ बिगाहा जमिन छ । 

पञ्चपुरी नगरपालिकाका मेयर लालवीर भण्डारीले तालिम केन्द्रका लागि प्रक्रिया अघि बढिसक्दा प्रदेश सरकारले नीति, कार्यक्रममा चौरजहारी राख्नु उपयुक्त नभएको बताए । ‘यहाँ सबै तरिकाले मिलेको, राजधानीको नजिक पनि भएकाले यहाँ सार्नका लागि प्रक्रिया अघि बढाइएको हो,’ उनले भने, ‘यसअघि पनि चौरजहारीको विषयमा जनार्दनज्यूले भनिरहनुभएको हो तर, प्रहरीले त्यहाँ उपयुक्त ठानिरहेको थिएन, अहिले मुख्यमन्त्रीज्यू त्यहाँकै भएकाले राखिएको हुन सक्छ ।’

साथै उनले केन्द्रबाटै प्रक्रिया अघि बढेको दाबी गरे । यद्यपि काम भने पूर्ण रुपमा बाँकी छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिसकेको र तालिम केन्द्रका लागि पश्चिम सुर्खेत नै उपयुक्त स्थान रहेको बताए ।

‘नीति तथा कार्यक्रम मैले हेर्न पाएको छैन, जग्गा प्राप्तिका लागि पहल भएको पश्चिम सुर्खेतमै हो,’ उनले रातोपाटीसँग भने, ‘अहिले त्यसैका लागि पहल भइरहेको छ । स्थानको विषयमा उहाँ (मुख्यमन्त्रीहरु)लाई थाहा नभएको पनि हुनसक्छ । बरु त्यसका लागि स्रोत साधन जुटाउने कुरा मुख्य हो ।’

बरु पश्चिमको जग्गा प्राप्तिमा परिणाम सहज नआएपछि नीति तथा कार्यक्रममा भने ठाउँमा पनि हुन सक्ने उनको भनाइ छ । तर, अहिलेका लागि पश्चिम सुर्खेतमै पहल भइरहेको उनले स्पष्ट पारे ।