मधुमेहको बिरामीले सुगर फ्री खानेकुरा ढुक्कले खान मिल्छ ?

मधुमेहको बिरामीले सुगर फ्री खानेकुरा ढुक्कले खान मिल्छ ?

मधुमेहको बिरामीले सुगर फ्री खानेकुरा ढुक्कले खान मिल्छ ?

काठमाडौं । अहिले बजारमा सुगर फ्री बिस्कुट, कोक, मिठाईलगायत विभिन्न खानेकुरा उपलब्ध छन् । मधुमेहको बिरामी तथा अन्य बिरामी र बुढाबुढीलाई भेट्न पनि हामी सुगर फ्री बिस्कुट लिएर जान्छौं । सुगर फ्री खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्ने लाग्छ हामीलाई ।

बजारमा पाइने सुगर फ्री खानेकुरा साँच्चै स्वस्थकर छ त ? मधुमेहका बिरामीले कस्तो खानपान अपनाउनुपर्छ ? यिनै विषयमा केन्द्रित रहेर वरिष्ठ मधुमेह, थाइराइड तथा हार्मोनरोग विशेषज्ञ डा. दीपेन्द्र कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश :

मधुमेहका बिरामीले खानपानमा किन बढी ध्यान दिनुपर्छ ?

सामान्यतया हामीले खाएको खाना ग्लुकोजमा परिणत हुन्छ । यसले शरीरलाई इनर्जी प्रदान गर्छ । तर मधुमेह भइसकेपछि उक्त ग्लुकोज इनर्जीको रूपमा परिणत हुन सक्तैन । र, शरीरमा विभिन्न समस्या देखा पर्छ । यसबाट बच्न मधुमेहका बिरामीले विशेषगरी खानपानमा ध्यान दिनुपर्छ ।

हामीमध्ये धेरैलाई यस्तो रोग लागेमा के खाने के नखाने थाहा नहुन सक्छ । जसले गुलियोबाट टाढा हुँदाहुँदै पनि हाम्रो रगतमा भने सुगरको मात्रा कम हुनुको सट्टा झन् बढ्छ ।

सुगर फ्री खानेकुरा स्वस्थकर हुन्छ ?

सुगर फ्री खानेकुरामा ‘एडेड सुगर’ अतिरिक्त चिनी प्रयोग भएको हुँदैन । तर यसको मतलब यस्ता खानेकुरा कार्बोहाइड्रेटबाट मुक्त हुँदैनन् । जसले यस्ता खानेकुराको सेवनले पनि शरीरमा सुगरको लेभल बढ्छ । त्यसैले सुगर फ्री खानेकुरा स्वस्थकर हो भनेर ढुक्कले खान सकिंदैन ।

यस्ता खानेकुरा कसरी गुलियो हुन्छ ?

सुगर फ्री खानेकुरामा साकारीन, सुक्रोजलगायत कृत्रिम सुगर मिसाइएको हुन्छ । यिनीहरूमा कम्प्लेक्स कार्बोहाइड्रेट हुन्छ । जसले गर्दा यो सामान्य चिनीजस्तो शरीरमा छिटो सोसिंदैन र दिसापिसाबमार्फत बाहिर निस्कन्छ र शरीरमा सुगरको लेभल धेरै बढ्दैन । तर अतिरिक्त चिनी भने छिट्टै शरीरले सोस्ने भएकाले सुगर बढ्छ ।

डा. दीपेन्द्र कार्की

मधुमेहका बिरामीले सुगर फ्री खानेकुरा ढुक्कले खान मिल्छ त ?

सामान्यतया व्यक्तिले बजारमा पाइने सबै प्रकारका जंकफुड, प्याकेट फुड र कोल्ड ड्रिंक खाइरहेका हुन्छन् । व्यक्तिलाई एक्कासि मधुमेहको समस्या देखियो भने उसलाई यस्ता खानेकुरा चटक्कै  छोड्न गाह्रो हुन्छ । यस्तोमा कहिलेकाहीं असाध्यै यस्ता खानेकुरा खान मन लाग्यो भने अतिरिक्त सुगरको मात्रा भएको भन्दा सुगर फ्री खानु उपयुक्त हुन्छ । तर सधैं खान भने हुँदैन । किनकि यस्ता खानेकुरामा कार्बोहाइड्रेट त हुन्छ नै, जसले सुगर बढाउँछ ।

मधुमेहका बिरामीले कस्तो खानपान अपनाउने ?

प्याङ्क्रियाजले यथेष्ट मात्रामा इन्सुलिन नामक हार्मोनको विकास गर्न नसक्दा वा शरीरले उत्पादन गर्ने इन्सुलिनलाई शरीर आफैंले प्रयोग गर्न नसक्दा मानिसलाई मधुमेह हुने गर्छ ।

हाइपरग्लाइसेमिया वा रगतमा सुगरको मात्रा बढ्नु नै मधुमेहको मुख्य कारण हो । मधुमेह भएका व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान दिन नसके त्यसले उनीहरूको आँखा, मुटु, किड्नी, नसालगायत शरीरका विभिन्न अंगलाई असर पार्न सक्छ । यसबाट बच्न मधुमेहका बिरामीले आफ्नो खानपान र जीवनशैलीमा ध्यान दिनु निकै आवश्यक हुन्छ ।

खानामा कार्बोहाइड्रेटयुक्त खाना चामल, गहुँ, मकैलगायत अन्न कम खानुपर्छ । एउटा प्लेटलाई लिएर त्यो प्लेटलाई तीन भागमा विभाजन गरेर एक भाग कार्बोहाइड्रेट सानो कचौराको एक कचौरा भात वा दुई वटा रोटी खान सकियो । दुई भाग मिक्स खानेकुरा खानुपर्छ । तरकारी, फलफूल, गेडागुडी, माछामासुजस्ता प्रोटिन र रेसायुक्त खानेकुराको मात्रा खानुपर्छ ।

उच्च रेसादार र म्याग्नेसियमयुक्त खाना जस्तै, काजु, बदाम, फर्सीको बीउ, हरियो तरकारी आदि खान सकिन्छ ।

खानपान र जीवनशैली सुधारेर मधुमेहको औषधि छुटाउन सकिन्छ ?

मधुमेहलाई नियन्त्रणमा राख्न जीवनभर नै औषधि खानुपर्ने हुन सक्छ । तर केही यस्ता केस पनि छन्, जसले आफ्नो जीवनशैली र खानपिनमा सुधार गरेर औषधि छाडेका छन् । औषधि छोड्न मिल्छ भनेर चिकित्सकको सल्लाहबिना आफूखुसी औषधि छाड्न भने मिल्दैन, यसले झन् नराम्रो असर गर्न सक्छ ।

सुगर नियन्त्रणमा आयो भनेर व्यक्तिले औषधि छाडेपछि फेरि खानपान र जीवनशैली बिग्रियो भने समस्या फेरि दोहोरिन सक्छ यो कुरामा पनि सचेत हुनुपर्छ ।

मधुमेहका बिरामीले ध्यान दिनुपर्ने कुरा के के हुन् ?

औषधिको सेवन गरिरहेका बिरामीले पनि खानपानमा ध्यान दिनुपर्छ र दैनिक व्यायाम गर्नुपर्छ । औषधि मात्र खाएर मधुमेह नियन्त्रण हुँदैन । मधुमेहको समस्या भएका व्यक्तिलाई हृदयघात हुने र पक्षघात हुने सम्भावना धेरै हुन्छ । त्यसैले मधुमेहको बिरामी पुरुष ४० वर्षमाथि र महिला ४५ वर्षभन्दा माथिका छन् भने डाक्टरको सल्लाहमा कोलेस्टेरोलको औषधि पनि अनिवार्य खानुपर्छ ।

कतिपय अवस्थामा बिरामीले कोलेस्टेरोल जाँच गरेर यसको लेभल ठीक छ, किन औषधि खाने भनेर आफूखुसी औषधि छाड्नुहुन्छ । तर त्यसो गर्नु गलत हो किनकि कोलेस्टेरोलको औषधिले हृदयघात र पक्षघातबाट जोगाउने हो ।

मधुमेहको औषधिको सेवनले मिर्गौला बिग्रिन्छ भन्ने सोच हुन्छ तर त्यो भ्रम मात्र हो । मधुमेहको औषधिले मिर्गौला खराब हुँदैन । मधुमेह रोग नियन्त्रणमा नहुँदा रोग आफैंले चाहिं मिर्गौला बिगार्न सक्छ । त्यसैले औषधि खान डराउनु पर्दैन ।